त्रिवेणी गाउँपालिकाको बाह्रौँ गाउँसभा सम्पन्न ।
शंकर के सी
विभिन्न योजना, कार्यक्रम तथा बजेट संशोधनसहित सल्यानको त्रिवेणी गाउँपालिकाको बाह्रौ गाउँसभा सम्पन्न भएको छ । बुधबार सम्पन्न गाउँसभाले संघीय समपुरक अनुदान मार्फत सञ्चालन हुने ढुंगबगर पिमखोला मखनटाकुरी सडक योजनाका लागि एक करोड रुपैयाँ विनियोजन गरेको गाउँसभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत राम बहादुर बुढाले जानकारी दिए । संघबाट यस योजनाका लागि दुई करोड रुपैयाँ विनियोजन भएको छ ।
गाउँपालिकाको एघारौँ गाउँसभाले एक करोड रुपैयाँ विनियोजन गरेकोमा साझेदारी मार्फत योजना सञ्चालनका लागि थप एक करोड रुपैयाँ विनियोजन गरेर गाउँपालिकाबाट दुई करोड रुपैयाँ सुनिश्चीत गरेको हो । यस योजना ठेक्का प्रक्रियामा गइसकेको पनि गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतको अध्यक्षतामा भएको गाउँसभाले जिल्ला समन्वय समिति सल्यानसंगको साझेदारीमा वडा नम्बर ६ को भवन निर्माण योजनाको लागि ४० लाखरुपैयाँ विनियोजन गरेको छ । यस्तै गाउँपालिकाको भुउपयोग योजनाका लागि पाँच लाख, इआईएका लागि पाँच लाख रुपैयाँ विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत राम बहादुर बुढाले जनाए । कार्यपालिका बैठकबाट पारित भएका विभिन्न कार्यविधि, कार्ययोजना र निणर्यहरु पनि बाह्रौ गाउँसभाबाट अनुमोदन भएको छ ।