२०८१ माघ ५ गते आइतवार | 2025 January 19th Sunday

छत्रेश्वरीमा वर्थिङ सेन्टरलाई १४५ किसिमका सामग्री वितरण आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट पनि प्रसुती सेवाको तयारी ।

शंकर के सी

सल्यानको एक प्रसुतिगृहलाई सुत्केरी हुन तथा सुत्केरी भइसकेपछि आवश्यक पर्ने उपकरण तथा सामग्री उपलब्ध गराइएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ मा रहेको छायाँछेत्र स्वास्थ्य चौकी स्थित वर्थिङ सेन्टरलाई मंगलबार १४५ किसिमका सामग्री वितरण गरिएको हो । मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढिकरण परियोजना अन्तर्गत डेलिभरी बेड, पिएनसी वेड, अक्सीजन सिलिण्डर, हिटर, फुट स्टेप, पेरिलाईट लगाएतका उपकरण तथा सामग्री हस्तान्तरण गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक केशरी भट्राईले जानकारी दिइन् । दलित विकास समाज सल्यानबाट सञ्चालन भएको उक्त परियोजना तथा गाउँपालिकासंगको साझेदारीमा दुई लाख ५० हजार बराबरका सामग्री उपलब्ध गराइएको हो ।

वर्थिङ सेन्टरमा आवश्यक उपकरणको सुविधा थपिएपछि गर्भवती महिलालाई सुत्केरी गराउन सहज हुने र यसले मातृ तथा नवजात शिशुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीको अपेक्षा छ । उनले भने, आमा तथा नवजात शिशुलाई चिसोबाट बचाउन, आवश्यक परेमा अक्सीजन दिन र सुरक्षित प्रसुतिका लागि धेरै नै सहज हुनेछ ।

विगतमा सीमित उपकरण र सामग्रीको कारणले सुरक्षित प्रसूति सेवामा दिन समस्या हँुदै आएको थियो । कतिपयं गर्भवती आमालाई अन्यत्रै पठाउने गरिएकोमा अब उपकरण र सामगी्र उपलब्ध भएपछि स्वास्थ्यकर्मीलाई जटिल बाहेक सबै प्रसूति सेवा दिन सहज हुनेछ ।

छत्रेश्वरी गाउँपालिकाका सबै प्रसुती केन्द्रलाई व्यवस्थीत गर्दै प्रभावकारी प्रसुति सेवा दिने गरी आफुहरुले काम गरिरहेको अध्यक्ष बुढाथोकीले बताए । उनका अनुसार छत्रेश्वरीमा ४ वटा प्रसुती केन्द्र छन् । आधारतुत स्वास्थ्य सेवा केन्द्र सञ्चालन भएका वडानम्बर २, ३ र ७ मा पनि प्रसुती सेवा दिने तयारी भइरहेको उनले जनाए । ‘२ र ७ नम्बर वडामा भवनपनि निर्माण भइसकेको छ । तर ३ नम्बर वडामा भौतिक पूर्वाधारको व्यवस्थापन गर्न बाँकी छ । आवश्यक जनशक्तिको पनि व्यवस्था गरेका छौँ । अव छिटै तीनवटा वडामा पनि प्रसुती सेवा दिन्छौ’ँ, अध्यक्ष बुढाथोकीले भने ।

स्वास्थ्य क्षेत्रको विकासका लागि गाउँपालिकाले प्राथमिकताका साथ काम गरिरहेको भन्दै उनले जेष्ठ नागरिकहरुको घरदैलोमै उपचार, औषधि व्यवस्थापन, विद्यालयमा प्राथमिक उपचारका सामग्री व्यवस्थापन गरिएको बताए । गाउँपालिकाले यस वर्षदेखी ७५ वर्षमाथीका जेष्ठ नागरिकलाई घरदैलोमै गएर चेकजाँच तथा उपचार गर्ने जनाएको छ ।

स्वास्थ्य संयोजक केशरी भट्राईका अनुसार माघ र जेठ महिनामा जेष्ठ नागरिकलाई घरमै पुगेर चेकजाँच तथा उपचार गरिने छ । ‘विगतमा हामीले ८० वर्ष माथीकालाई घरभेट गर्नेगरेका थियौँ । यसपालीबाट ७५ वर्षमाथीकालाई घरमै उपचार गर्नका लागि औषधि तथा आवश्यक स्वास्थ्य उपकरणको पनि व्यवस्था गरिसकेका छौँ,’ उनले भनिन् । छत्रेश्वरी गाउँपालिकाभित्र रहेका ४० वटा सामुदायीक विद्यालयलाई प्राथमिक उपचारको लागि स्वास्थ्य सामग्री उपलब्ध गराउनका लागि तयारी भइसकेको पनि उनले जनाइन् ।

वर्थिङ सेन्टरलाई सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बुद्धा केसी, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी लगाएतको सहभागिता थियो ।

प्रकाशित मिति : २०७९ पुष २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस